सत्य, निष्पक्ष र विश्वसनीय

भरतपुरका ६ स्थानमा ट्राफिक लाइट जडान सुरु

न्युज डेस्क
२०८३ आश्विन ६, मंगलवार ०९:०७

चितवन, ६ असोज
चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको छ।

पुलचोक–गोन्द्राङ छ लेन सडक तथा बाइपास रोडअन्तर्गतका विभिन्न छ स्थानमा ट्राफिक लाइट जडान गर्न लागिएको हो। सोमबार पुलचोक र सहिदचोकबाट बत्ती जडानको काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिए।

यसअघि ट्राफिक लाइट जडानका लागि आवश्यक पोल राख्ने काम छवटै स्थानमा सम्पन्न भइसकेको थियो। अहिले पोलमा बत्ती तथा आवश्यक उपकरण जडान गर्न थालिएको हो।

संघीय सरकारको बजेटअन्तर्गत पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, मालपोतचोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको हो। सवारीसाधनको चाप बढी हुने तथा ट्राफिक व्यवस्थापनमा समस्या देखिएका स्थानलाई प्राथमिकतामा राखेर लाइट जडान गर्न लागिएको जनाइएको छ।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै हुन सकेको थिएन। पछिल्लो समय जनजी प्रदर्शनका कारण पनि काममा केही ढिलाइ भएको उनले बताए।

‘अब बत्ती राख्ने काम सुरु भएको छ। चाँडै सम्पन्न हुन्छ,’ महर्जनले भने।

उनका अनुसार निर्माण कम्पनीले बत्ती ल्याउन ढिलाइ गर्दै म्याद थपका लागि निवेदन दिएको थियो। तर विभागले म्याद थपको निवेदन अस्वीकार गरेको थियो। अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाएर काम अघि बढाइएको महर्जनले बताए।

भरतपुर महानगरपालिकाका छ स्थानमा ट्राफिक लाइट जडानका लागि विसं २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित एक करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले लामो समयदेखि सडक विभागलाई सवारी चाप र दुर्घटनाको जोखिम बढी भएका स्थानमा ट्राफिक लाइट जडान गर्न आग्रह गर्दै आएको बताए।

महानगरको आग्रहअनुसार सडक विभागले काम अघि बढाए पनि ढिलाइ भएको उनको भनाइ छ। ट्राफिक लाइट सञ्चालनमा आएपछि सहरी क्षेत्रमा सवारी आवागमन व्यवस्थित हुनुका साथै दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको अधिकारीले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?