बसभित्र आत्मदाह गर्ने अर्जुन भएको पुष्टि, अस्पताल परिसरमा दुई श्रीमतीसहितको प्रदर्शन
काठमाडौं, ६ असोज
काठमाडौंको त्रिपुरेश्वरमा बसमा आफैंलाई आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरस्थित स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा दोङले आफैंलाई आगो लगाएका थिए। प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि उनले बसभित्र रहेका यात्रुलाई बाहिर निकालेर ढोका बन्द गरी आगो लगाएका थिए।

आगो लागेपछि प्रहरीले बसको ढोका फुटाएर उनको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो। तर शरीरको करिब ९० प्रतिशत भाग जलेका कारण उपचारका क्रममा उनको मृत्यु भएको हो।

२५ वर्षीय दोङको मृत्यु भएपछि अहिले अस्पताल परिसरमा उनका आफन्तको भीड लागेको छ। सम्भावित अप्रिय घटना हुन नदिन अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी स्थायी घर भएका दोङ काठमाडौंमा अरूको बस चलाउँदै परिवार पाल्दै आएका थिए। गाउँपालिकाका जनप्रतिनिधिका अनुसार उनको नागरिकतासमेत बनेको थिएन। उनका श्रीमती र ५ वर्षीय एक छोरा छन्।
यसैबीच, काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार दोङले पटक–पटक अरू व्यक्तिको नाममा जारी भएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रयोग गर्दै आएको खुलेको छ। घटनास्थलबाट प्रहरीले काभ्रेका दावा लामाको नाममा रहेको लाइसेन्स बरामद गरेको जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा दोङ यसअघि २०८२ कात्तिकमा बालाजुमा बस दुर्घटना गराएर तीन जना घाइते बनाएपछि फरार भएको र त्यसबेला सुनिल तामाङको नाममा रहेको लाइसेन्स प्रयोग गरेको खुलेको छ।
त्यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दावा तामाङको नाममा रहेको अर्कै लाइसेन्स प्रयोग गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





