सत्य, निष्पक्ष र विश्वसनीय

बडादशैँ सुरु, घरघरमा घटस्थापना र जमरा राखिँदै

न्युज डेस्क
२०८३ आश्विन २५, आईतवार ०७:४२

वीरगञ्ज, २५ असोज

नेपालीहरूको महान् पर्व बडादशैँ आज आइतबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैँ औपचारिक रूपमा सुरु भएको हो ।

घटस्थापनाको अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा देवी दुर्गा भवानीको आह्वान गर्दै वैदिक विधिअनुसार पूजा आराधना गरी जमरा राखिरहेका छन् । घटस्थापनासँगै सुरु हुने नवरात्रिका नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा तथा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

धार्मिक मान्यताअनुसार नवरात्रिका नौ दिनलाई शक्ति उपासनाका लागि विशेष महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा देवी दुर्गाको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाका लागि आज बिहान ११ बजेर ४७ मिनेटको समय शुभ रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि तिनको शान्ति गर्नुपर्ने समितिले जनाएको छ ।

घटस्थापनाका दिन विधिपूर्वक कलश स्थापना गरी जौ छर्ने, दियो बाल्ने तथा देवी दुर्गाको आह्वान गर्दै पूजा गर्ने चलन छ । नौ दिनसम्म नियमित रूपमा जमराको पूजा गरी हुर्काइने जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीकासँगै ग्रहण गरिन्छ ।

जमरालाई समृद्धि, उर्वरता, शुभता र जीवनको निरन्तरताको प्रतीकका रूपमा लिने गरिन्छ । दशैँमा रातो टीका र जमरा लगाएर अग्रजबाट आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्त्वलाई झल्काउँछ ।

घटस्थापनादेखि सुरु हुने दशैँका धार्मिक अनुष्ठान विजयादशमीका दिन टीका तथा जमरा ग्रहण गरेपछि पनि विभिन्न परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म जारी रहन्छन् । बडादशैँलाई धार्मिक आस्था, पारिवारिक मिलन र आपसी सद्भावको पर्वका रूपमा मनाइन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?