घरेलु विवादमा श्रीमतीमाथि कुटपिट, उपचारपछि मृत्यु, श्रीमान पक्राउ
बारा, २२ असोज ।
निजगढ नगरपालिका १२ रामथलीमा घरेलु विवादका क्रममा श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायालाई स्थानीय मेडिकलबाट चिकित्सक घरमै बोलाई जाँच तथा औषधि उपचार गराइएको थियो।
सुकुमाया सोही दिन राति करिब ८ बजे खाना खाएर सुतेकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा उनी नउठेपछि मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा विजय मोक्तानलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





