सत्य, निष्पक्ष र विश्वसनीय

कांग्रेस महाधिवेशनमा १९ पदका लागि ६० भन्दा बढी उम्मेदवार, दुई पदमा निर्विरोध

न्युज डेस्क
२०८३ आश्विन २१, बुधबार ०७:२९

काठमाडौं, २१ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १९ पदाधिकारीका लागि ६० भन्दा बढी उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा वर्तमान सभापति गगन थापासहित तीन जनाले उम्मेदवारी दिएका छन् भने वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा एकल उम्मेदवारी परेको छ।

कांग्रेसको संशोधित विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २५ पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने व्यवस्था भएकाले निर्वाचनबाट १९ पदाधिकारी चयन हुनेछन्।

निर्वाचन समितिले उम्मेदवारीमाथि छानबिनपछि अन्तिम र आधिकारिक विवरण सार्वजनिक गर्ने जनाएको छ।

सभापतिमा गगन थापासहित तीन उम्मेदवार

सभापति पदमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।

राठोर यसअघि देउवा समूहमा रहेर काम गर्नुभएको थियो। बर्दिया–२ का राठोर त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति हुँदा गगन थापा विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। यस्तै, थापाले बनस्थलीमा अध्ययन गर्दा शिक्षक रहनुभएका खड्गी अहिले उहाँकै प्रतिस्पर्धीका रूपमा सभापति पदमा उत्रिनुभएको छ।

वरिष्ठ उपसभापति र महिला उपसभापतिमा निर्विरोध

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ। त्यस्तै महिला उपसभापति पदमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। दुवै जना हाल उपसभापति पदमा रहनुभएको छ।

गत पुसमा विशेष महाधिवेशन आह्वानका लागि तत्कालीन महामन्त्री शर्माले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भुसाल पनि विशेष महाधिवेशनको पक्षमा उभिनुभएको थियो।

उपसभापतिको समावेशी क्लष्टरतर्फ एक पदका लागि विनोद चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णबीच प्रतिस्पर्धा हुने भएको छ।

खुला उपसभापतिमा नौ उम्मेदवार

खुलातर्फ दुई उपसभापति निर्वाचित हुने व्यवस्था छ। यस पदमा डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, देवराज चालिसे, मधु आचार्य, धनराज गुरुङ, डा. चन्द्रमोहन यादव, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई र दीपक गिरीले उम्मेदवारी दिएका छन्।

गत महाधिवेशनमा उपसभापतिमा पराजित डा. भण्डारी यसपटक पुनः प्रतिस्पर्धामा हुनुहुन्छ। यसअघि उपसभापति निर्वाचित धनराज गुरुङ पनि सोही पदका लागि उम्मेदवार बन्नुभएको छ। पूर्वमहामन्त्रीका प्रतिस्पर्धी डा. रिजाल, प्रवक्ता देवराज चालिसे तथा विशेष महाधिवेशनका अगुवा मधु आचार्यले पनि उम्मेदवारी दिएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र प्रतिनिधिसभा सदस्य डा. चन्द्रमोहन यादव पनि खुला उपसभापतिको दौडमा हुनुहुन्छ। यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुनुहुन्छ।

महामन्त्रीमा आठ उम्मेदवार, महिलातर्फ तीन

संशोधित विधानअनुसार तीन महामन्त्रीमध्ये एक महिला र दुई जना खुलातर्फबाट निर्वाचित हुनेछन्।

खुलातर्फ महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, सुनिल शर्मा, नैनसिंह महर, अमरसिंह पुन, शंकर तिवारी र डा. प्रकाश उपाध्यायले उम्मेदवारी दिएका छन्।

महिलातर्फ एक पदका लागि डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनालबीच प्रतिस्पर्धा हुने भएको छ।

संग्रौला र डिना यसअघि देउवा समूहमा रहेर काम गर्नुभएको थियो। डिना १४औँ महाधिवेशनबाट महिला क्लष्टरमा सहमहामन्त्री निर्वाचित हुनुभएको थियो भने संग्रौला केन्द्रीय सदस्य बन्नुभएको थियो।

सहमहामन्त्रीमा पनि तीव्र प्रतिस्पर्धा

संशोधित विधानअनुसार १५ सहमहामन्त्रीमध्ये ११ जना विभिन्न क्लष्टरबाट निर्वाचित हुनेछन् भने चार जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

महिलातर्फ एक पदका लागि प्रतिमा गौतमको मात्र उम्मेदवारी परेको छ। खुलातर्फ रामहरि खतिवडा, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी, रमेश धमला, अजयबाबु शिवाकोटी र विकास कोइरालाले उम्मेदवारी दिएका छन्।

पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मीन भाम र कर्णबहादुर बुढाबीच प्रतिस्पर्धा हुने भएको छ।

खस आर्यतर्फ अजयबाबु शिवाकोटी, रामहरि खतिवडा, अमृत अर्याल, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।

आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। थारु क्लष्टरमा तेजुलाल चौधरी र योगेन्द्र चौधरी उम्मेदवार छन्।

अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, नगेन्द्र कुमाल र योगेश गौचनले उम्मेदवारी दिएका छन्। मुस्लिम क्लष्टरमा अब्दुल सत्तार, अतहर कमाल मुसलमान र फिर्दोस आलम प्रतिस्पर्धामा छन्।

मधेसी क्लष्टरबाट अभिषेक प्रताप शाह र रामपल्टन साहले उम्मेदवारी दिएका छन् भने दलित क्लष्टरमा प्रकाश स्नेही रसाइली, लक्ष्मी परियार, मानबहादुर नेपाली र नरेन्द्र पासवान उम्मेदवार बनेका छन्।

यसरी कांग्रेसको १५औँ महाधिवेशनमा अधिकांश पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेको छ। निर्वाचन समितिले उम्मेदवारीमाथिको छानबिन र अन्तिम नामावली सार्वजनिक गरेपछि प्रतिस्पर्धाको वास्तविक तस्वीर स्पष्ट हुने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?