यस वर्षको दशैंमा टीकाको उत्तम साइत बिहान १०:२६ बजे
काठमाडौं, २१ असोज
यस वर्षको बडादशैंअन्तर्गत विजया दशमीका दिन टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्ने जनाइएको छ।
यस वर्षको नवरात्र असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
त्यसैगरी असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार फूलपाती मनाइनेछ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ। त्यसैगरी कार्तिक ३ गते मंगलबार महानवमी परेको छ।
कार्तिक ४ गते बुधबार विजया दशमीका दिन देवी विसर्जनसँगै टीका लगाउने कार्यक्रम हुनेछ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे र स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे रहेको छ। खड्गयात्रा पनि सोही दिन गरिनेछ।
दशैंको समापनतर्फ कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको साइतअनुसार यस वर्षको दशैंमा घटस्थापनादेखि विजया दशमी हुँदै कोजाग्रत पूजासम्मका प्रमुख धार्मिक तथा सांस्कृतिक विधि र शुभसाइत तय भएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





