चोलेन्द्रलाई भेट्न टेकु पुगेका एआईजी दाहाल निलम्बित, तीन दिनभित्र छानबिन गर्न निर्देशन
काठमाडौँ, २० असोज
सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
गृह मन्त्रालयले पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहाललाई निलम्बन गरी छानबिन अघि बढाएको हो। मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बलबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको हो।
दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि अनुमति नलिई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको विषयमा समेत अनुसन्धान भइरहेको छ। स्रोतका अनुसार जबरा पक्राउ परेको राति नै दाहाल टेकु पुगेका थिए। दाहाल र जबरा नातेदारसमेत रहेको बताइएको छ।
यसैगरी, दाहालको झापाका इनम सापकोटासँग सम्पर्क रहेको र उनीमार्फत संवेदनशील सूचना आदानप्रदान भएको हुनसक्ने विषयमा समेत अनुसन्धान केन्द्रित रहेको समाचारहरूमा उल्लेख छ। यद्यपि, गृह मन्त्रालयले हालसम्म कस्तो सूचना कसलाई र कुन प्रयोजनका लागि चुहाइएको भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।
दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ। पोखरेललाई तीन दिनभित्र छानबिन पूरा गरी मन्त्रालयमा प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।
यसअघि दाहालको चार वर्षे पदावधि पूरा हुनुअघि एक वर्ष म्याद थपका लागि सशस्त्र प्रहरी बल मुख्यालयले गृह मन्त्रालयमा सिफारिससमेत गरेको थियो। उनी असोज २७ गते चार वर्षे पदावधि पूरा गरी अवकाशमा जाने तयारीमा थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





