कोटेश्वरमा गोली प्रहारपछि आयान माझीसहित तीन जना पक्राउ
काठमाडौं, २२ असोज
कोटेश्वर–जडिबुटी क्षेत्रमा प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोपमा आयान माझीसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–५ घर भई हाल काठमाडौंको कलंकी, ढुङ्गेअड्डा बस्दै आएका २६ वर्षीय आयान माझी, मकवानपुर बकैया गाउँपालिका–७ घर भई भक्तपुरको ठिमी नगरपालिका–४ बस्ने मनोजकुमार मोक्तान र राकेश थिङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै धारिलो हतियार प्रहार भएको थियो। त्यसपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गर्नुका साथै माझीको घुँडामुनि एक गोली प्रहार गरेको जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, हातहतियार देखाएर सुनका गरगहना तथा नगद लुट्ने लगायतका गतिविधि गर्दै आएको आरोप छ। लुटपाटका क्रममा उनीहरूले नक्कली नम्बर प्लेट भएका मोटरसाइकल तथा हातहतियार प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
करिब ८–९ महिनाअघि उक्त समूहले रातको समयमा २–३ वटा मोटरसाइकलमा तीन–तीन जनाका दरले सवार भई सार्वजनिक सडकमा हिँडिरहेका व्यापारीलाई लक्षित गरी लुटपाट गरेको प्रहरीको भनाइ छ। सो क्रममा व्यापारीका गरगहना तथा नगद लुटिएको थियो।
प्रहरीले यसअघि नै आयान माझीको नेतृत्वमा रहेको समूहका १० जनालाई पक्राउ गरी चोरी तथा डाँका मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका विभिन्न बैंकका एटीएम बुथमा भएको लुटपाटमा समेत यही समूह संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।
माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। २०७७ सालमा डाँकाचोरी मुद्दामा तीन महिना कैद भुक्तान गरी धरौटीमा छुटेका उनीमाथि पुनः ६ महिना कैद सजायको फैसला भएपछि २०८२ वैशाखमा पक्राउ गरिएको थियो। त्यसपछि उनले तीन महिना कैद भुक्तान गरेका थिए।
प्रहरीका अनुसार काठमाडौं बाहेक जिल्ला प्रहरी परिसर भक्तपुर तथा इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेमा समेत माझीविरुद्ध डाँका तथा चोरीसम्बन्धी २७ वटा मुद्दा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





