सडक निर्माण विवादमा नगर प्रहरीद्वारा स्थानीयमाथि हातपात गरेको आरोप
बारा, २२ असोज
देवताल गाउँपालिका ७ पिपरपाती टोलमा सडक निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न पुगेका गाउँपालिकाका नगर प्रहरीमाथि स्थानीयमाथि हातपात गरेको आरोप लागेको छ।

स्थानीयका अनुसार सुदामा प्रसाद यादवको घरदेखि महिन्द्र राउतको घरसम्म बाटो निर्माण गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। विवाद समाधानका लागि गाउँपालिकाका नगर प्रहरी घटनास्थल पुगेका थिए। तर, समस्या समाधान गर्नुको सट्टा नगर प्रहरीमध्ये एक जनाले बाँसको फट्टा प्रयोग गरी स्थानीयमाथि हातपात गरेको स्थानीयको आरोप छ।
घटनामा स्थानीय जोगिन्द्र राय यादव र उनकी पत्नी घाइते भएको यादवले बताएका छन्। यादवका अनुसार नगर प्रहरीको हातपातबाट आफू र आफ्नी पत्नीलाई चोट लागेको हो।
घटनापछि स्थानीयले नगर प्रहरीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्। विवाद समाधान तथा शान्ति कायम गर्न खटिनुपर्ने सुरक्षाकर्मीबाटै स्थानीयमाथि बल प्रयोग भएको आरोप लाग्नु दुःखद् भएको उनीहरूको भनाइ छ।
यसैबीच, देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले दक्ष तथा योग्य जनशक्ति छनोट नगरी आफ्ना आसेपासे तथा कार्यकर्तालाई नगर प्रहरीमा भर्ना गरेको स्थानीयले आरोप लगाएका छन्। नगर प्रहरीको छनोट तथा परिचालन प्रक्रिया पारदर्शी बनाउनुपर्ने उनीहरूको माग छ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएमा आवश्यक कारबाही गर्न गाउँपालिका तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





