सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजासहित बरामद
सुनसरी, १० असोज
सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्समा लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार २०८३ असोज २ गते राति १२:३० बजे कोशी राजमार्गमा नम्बर नखुलेको एम्बुलेन्स इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको अवस्थामा शङ्का लागेपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो।
दुहबी नगरपालिका–६, बुढीखोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको एम्बुलेन्स जाँच गर्दा त्यसबाट ५७४.८७ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





