साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, छर्रा लागेर एक नेपालीसहित दुई जनाको मृत्यु
काठमाडौं, ५ कार्तिक
साउदी अरबको सायबाह (Shaybah) तेल क्षेत्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणको प्रयास असफल पारिए पनि खसेको छर्रा लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। साउदी अरबको पूर्वी क्षेत्रमा रहेको साउदी अरामको कम्पनीको तेल क्षेत्रमा बुधबार बिहान भएको घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको जनाइएको छ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार सुरक्षा निकायले आक्रमणका लागि आएको ड्रोनलाई आकाशमै नियन्त्रणमा लिएको थियो। तर, त्यसबाट खसेको छर्रा लाग्दा तेल क्षेत्रको बाहिरी परिसरमा काम गरिरहेका व्यक्तिहरू प्रभावित भएका थिए। घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्। छर्रा लागेपछि एक ठेकेदारको गाडीमा आगलागीसमेत भएको मन्त्रालयले जनाएको छ।

समयमै उद्धार तथा आगो नियन्त्रणमा लिइएकाले तेल प्रशोधन केन्द्र र इन्धन उत्पादनसम्बन्धी मुख्य गतिविधिमा भने असर नपरेको जनाइएको छ। घटनामा मृत्यु भएका नेपाली नागरिकको परिचय तथा थप विवरण भने उपलब्ध गराइएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





