कास्कीमा पाँच जना मिलेर आफ्नै साथीको हत्या गरेको आरोप, पाँच जना पक्राउ
पोखरा, १२ कार्तिक
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँच जना मिलेर आफ्नै साथीको हत्या गरेको घटना सार्वजनिक भएको छ। सँगै मदिरा सेवन गरेर फर्किने क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका राजेन्द्र घरमा आएका आफ्ना भिनाजुसँग मोबाइल माग्दा नदिएपछि खोसेर फुटाएका थिए। त्यसपछि उनी गाउँका साथीहरू लीलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग स्थानीय होटलमा मदिरा सेवन गर्न गएका थिए।
साँझ करिब ६ बजे होटलबाट निस्किएपछि उनीहरूबीच मदिरा सेवनको विषयलाई लिएर विवाद भएको थियो। विवाद साम्य पारेर छुट्टिने क्रममा राजेन्द्रले लीलबहादुरको घरमा रहेको मौरीको घारमा लात्तीले हानेपछि झगडा थप चर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार विवादका क्रममा राजेन्द्रले घाँस काट्न प्रयोग हुने आँसीले मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा प्रहार गरेका थिए। उक्त घटनामा दुवै जनालाई सामान्य चोट लागेको थियो। त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किएका थिए।
सामान्य विवादबाट सुरु भएको घटनाले पछि गम्भीर रूप लिँदा राजेन्द्रको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा पक्राउ परेका पाँच जनाको संलग्नता र घटनाक्रमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





