पिस पोस्टर कन्टेस्टको चौथो संस्करण सम्पन्न, विशाल साह बने प्रथम
वीरगञ्ज. १६ कात्तिक
मानवता, शान्ति र आपसी सद्भावको सन्देश फैलाउने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा चौथो पटक ‘पिस पोस्टर कन्टेस्ट’ सम्पन्न भएको छ। ‘Harmony in Humanity’ अर्थात् ‘मानवतामा सद्भाव’ विषयमा आयोजित प्रतियोगितामा विशाल साह प्रथम भएका छन्।

नवदीप एकेडेमीमा आयोजित प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत २० जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले चित्रकलामार्फत शान्ति, प्रेम, एकता, सहिष्णुता, भाइचारा तथा मानवीय मूल्य र मान्यताको महत्त्वलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगिताको नतिजाअनुसार विशाल साहले प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै किशन मण्डल दोस्रो, परी गुप्ता तेस्रो र एलिस सिंह चौथो भएका छन्।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीकी चार्टर प्रेसिडेन्ट, नवदीप एकेडेमीकी सञ्चालिका तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष लायन सुशिला साहले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पीएमजेएफ लायन डीएन अग्रवाल तथा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमल्सिनाको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन लायन नेहा अग्रवालले गरेकी थिइन्।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष चौथो पटक सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
विद्यार्थीहरूमा लुकेर रहेको सिर्जनात्मक क्षमता र कलात्मक प्रतिभाको विकास गर्नुका साथै सामाजिक तथा मानवीय भावनाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।
चित्रकलाका माध्यमबाट बालबालिकालाई विश्व शान्ति, मानवता र आपसी सद्भावको महत्त्वबारे सचेत गराउने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





