पर्साबाट अवैध रूपमा भित्र्याइएका चार थान सवारीसाधन नियन्त्रणमा
वीरगञ्ज, १८ कात्तिक ।
पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका चार थान निजी सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लामो समयदेखि बिना भन्सारका सवारीसाधन नेपालमा भित्र्याई ग्रामीण तथा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।
प्रहरीले गत कात्तिक १६ गते दिउँसो १ः४५ बजे वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकखण्डबाट भारतीय बोलेरो गाडी र मारुती सुजुकी कार बरामद गरेको जनाएको छ।
बरामद गरिएका सवारीसाधनको हकदाबी गर्ने व्यक्ति फेला नपरेपछि प्रहरीले चारवटै सवारीसाधनको कुल मूल्य २२ लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कात्तिक १७ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले अवैध रूपमा भन्सार छली गरी भित्र्याइएका सवारीसाधनको प्रयोग तथा कारोबार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





