सत्य, निष्पक्ष र विश्वसनीय

आईजीपी हटाउने सरकारको निर्णयप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, भने– राज्यसत्ताको चरम दुरुपयोग

न्युज डेस्क
२०८३ कार्तिक १९, बुधबार १५:४८

काठमाडौं, १८ कात्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सरकारले आईजीपी कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि शाहीले यस्तो टिप्पणी गरेका हुन्।

उनले आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही गर्नुपर्ने भन्दै व्यक्तिगत स्वार्थका आधारमा पदबाट हटाउनु राज्यसत्ताको चरम दुरुपयोग भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले भनेका छन्, ‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो।’

आईजीपीबाट कुनै गल्ती नभएको अवस्थामा उनलाई पदबाट हटाउनु गलत भएको उनको बुझाइ छ। शाहीले सरकारको उक्त कदमलाई व्यक्तिगत स्वार्थसँग जोड्दै यसले राज्यसत्ताको प्रयोगमाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?