दुर्घटना हेर्न जम्मा भएको भीडलाई ट्रले किच्दा ७ जनाको ज्यान गयो
काठमाडौं , २० कार्तिक
भारतको झारखण्ड राज्यस्थित खूँटी जिल्लामा भएको भीषण सडक दुर्घटनामा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार राति कर्रा–तोरपा मुख्य सडकमा भएको दुर्घटनामा १८ चक्के ट्रकले सडकमा जम्मा भएका मानिसहरूलाई किच्दा उनीहरूको ज्यान गएको हो।
घटनाअघि एक स्कुटर चालक सडकको खाल्डोमा खसेका थिए। उनलाई उद्धार गर्न स्थानीयवासी घटनास्थलमा जम्मा भएका थिए। सोही क्रममा केही महिला तथा बालबालिकासमेत दुर्घटना हेर्न त्यहाँ पुगेका थिए।
यसैबीच तोरपातर्फबाट तीव्र गतिमा आइरहेको १८ चक्के ट्रकले मोडमा नियन्त्रण गुमाउँदै भीडलाई किचेको प्रहरीले जनाएको छ। अँध्यारोका कारण चालकले सडकमा जम्मा भएको भीड देख्न नसकेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
खूँटीका प्रहरी उपरीक्षक ऋषभ गर्गले शुक्रबार घटनाबारे जानकारी दिँदै दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।
घटनाप्रति झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





