सत्य, निष्पक्ष र विश्वसनीय

कुकुर तिहार र लक्ष्मीपूजा आजै, दीपावलीले झिलिमिली बन्दै घरआँगन

न्युज डेस्क
२०८३ कार्तिक २३, आईतवार ११:२२

काठमाडौं, २२ कात्तिक
तिहारको दोस्रो दिन आज आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ। घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको स्वागत गर्ने तयारी गरिएको छ।

लक्ष्मीपूजाका अवसरमा घरका झ्याल, ढोका, चोटा, कोठा, आँगन, कौसी, अटाली र भर्‍याङलगायत स्थानको सरसफाइ गरी दीप प्रज्ज्वलन गर्ने परम्परा छ। कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रीसमेत भनिन्छ।

धार्मिक परम्पराअनुसार लक्ष्मीपूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरिन्छ। त्यसपछि चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई घरभित्र आउने बाटो देखाउने चलन छ। बाटोका विभिन्न स्थानमा केराको सुत्ला वा माटाका पालामा दीप प्रज्ज्वलन गरी घरलाई झिलिमिली बनाइन्छ।

दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी तथा फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ। लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरी दक्षिणा दिने परम्परासमेत रहेको छ।

लक्ष्मीपूजाका दिन घरबाट धनसम्पत्ति वा अन्य सामान बाहिर पठाउँदा लक्ष्मी पनि बाहिरिने धार्मिक विश्वास रहेकाले यस दिन घरमा नयाँ सामान भित्र्याउने र धनसम्पत्तिको पूजा गर्ने चलन छ।

यसैबीच, तिहारको अवसरमा आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परासमेत रहेको छ।

धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ।

धार्मिक मान्यताअनुसार वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको थियो। कुकुरलाई आज्ञापालक तथा सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

तिहारका यी परम्पराले धनसम्पत्तिको सम्मानसँगै पशुपन्छीप्रतिको माया, सद्भाव र कृतज्ञताको सन्देशसमेत प्रवाह गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?