काभ्रेको रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा, दुई कोठामा ठूलो संख्यामा ल्यापटप र मोबाइल फेला
काभ्रे, १ मंसिर
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रिसोर्टमा विदेशी नागरिकहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मिति २०८३ मंसिर १ गते दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी कुल ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेका छन्।
घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ। नियन्त्रणमा लिइएका चिनियाँ नागरिकहरूको गतिविधि तथा बरामद भएका विद्युतीय उपकरणका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





