सत्य, निष्पक्ष र विश्वसनीय

आईजीपी केसीले म्याद बुझ्न नमानेपछि प्रहरी प्रधान कार्यालयका वकिलमार्फत तामेल गर्न सर्वोच्चको आदेश

न्युज डेस्क
२०८३ मंसिर ८, सोमबार १४:३१

काठमाडौं, ७ मंसिर
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयका कानुन व्यवसायी (अधिवक्ता) मार्फत तामेल गर्न आदेश दिएको छ।

अदालतका तामेलदार म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुग्दा कार्यालयले बुझ्न अस्वीकार गरेपछि सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

निवर्तमान आईजीपी दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै दायर गरेको उत्प्रेषण रिटमाथि सुनुवाइ गर्दै इजलासले यस्तो आदेश जारी गरेको हो।

के भएको थियो म्याद तामेलीमा?

सर्वोच्च अदालतले गत मंसिर ४ गते आईजीपी डा. केसीका नाममा म्याद जारी गरेको थियो। उक्त म्याद बुझाउन अदालतका तामेलदार प्रहरी प्रधान कार्यालय पुग्दा कार्यालयका कर्मचारीले आईजीपी बैठकमा गएको र फर्किएपछि म्याद बुझ्ने भन्दै कार्यालय समयसम्म पर्खाएका थिए।

तर, कार्यालय समय सकिँदासम्म पनि आईजीपी केसी उपस्थित नभएपछि र प्रहरी प्रधान कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेपछि तामेलदारले म्याद तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस गरेका थिए।

सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी भए फिर्ता नहुने प्रतिबद्धता जनाएका थिए।

सोही अनुरोधका आधारमा सर्वोच्चले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत मंसिर ४ गते जारी भएको म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको हो।

इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै आगामी मंसिर ९ गते बुधबारका लागि अर्को पेसीसमेत तोकेको छ। साथै, पेसीको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन आदेश दिएको छ।

सरकारले गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

सरकारको उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई पदबाट हटाउने निर्णय बदर गरी पुनः आईजीपीमा बहाली गर्न माग गरेका छन्।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई छलफलका लागि मंसिर ७ गते उपस्थित हुन आदेश दिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?