आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
काठमाडौं, ७ असोज
देशभर हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ भने मध्यपूर्व बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिसमेत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





