सत्य, निष्पक्ष र विश्वसनीय

भारी वर्षाको सम्भावनालाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह

न्युज डेस्क
२०८३ आश्विन ९, शुक्रबार ०७:३३

काठमाडौँ, ९ असोज
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार बनाउँदै मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने व्यवस्था मिलाउन भनेको छ । विपद् उत्पन्न भए तत्काल परिचालन हुनसक्ने गरी जनशक्ति, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको पूर्वतयारी गर्नसमेत आग्रह गरिएको छ ।

त्यस्तै, सम्भावित विपद्को समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?