नेशनल मेडिकल कलेजका प्रथम वर्षका पीजी चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन
वीरगञ्ज, ९ असोज
वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ ।
कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टले बिहीबार जारी गरेको सूचनामा शैक्षिक सत्र २०८२ का प्रथम वर्षका पीजी आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहित सबै शैक्षिक तथा प्रशिक्षण गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाइएको छ ।

कलेजले हालको शैक्षिक तथा संस्थागत परिस्थितिलाई दृष्टिगत गर्दै प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाइदिन चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोधसमेत गरेको जनाएको छ ।
सूचनाअनुसार आवासीय चिकित्सकले कलेजले उपलब्ध गराएको छात्रावासको कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा सूचना जारी भएको १२ घण्टाभित्र खाली गर्नुपर्नेछ । उनीहरूले आफ्नो जिम्मामा रहेको कलेजको सम्पत्ति सम्बन्धित छात्रावास प्रशासन वा प्रशासन कार्यालयमा बुझाई व्यक्तिगत सामानसमेत हटाउनुपर्ने कलेजले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





