सत्य, निष्पक्ष र विश्वसनीय

​चार वर्षदेखि अवरुद्ध वीरगञ्जका तीन वडाको पानी निकास खुलाइयो

न्युज डेस्क
२०८३ आश्विन १३, मंगलवार १४:२५

​वीरगञ्ज, १३ असोज

वीरगञ्ज महानगरपालिकाका तीनवटा वडामा विगत चार वर्षदेखि ठप्प रहेको पानीको निकास खुलाइएको छ। महानगर प्रमुख राजेशमान सिंहको निरन्तर पहलमा महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेपछि वडा नम्बर १७, २५ र २६ को पानीको निकास सहज भएको हो।

​पानीको उचित निकास नहुँदा बर्खायाममा वडा नम्बर १७, २५ र २६ अन्तर्गत पर्ने सुगौली, अलौलगायत आसपासका बस्ती र ठूलो भू-भाग डुबानमा पर्दै आएका थिए। लामो समयसम्म पानी जमिरहनाले एकातिर स्थानीयलाई आवतजावतमा ठूलो सास्ती हुन्थ्यो भने अर्कातिर खेतीपातीसमेत नराम्ररी प्रभावित बनेको थियो।

​बस्ती तथा खेतीयोग्य जमिनमा पानी जम्ने समस्याका कारण लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने र विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको भन्दै स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका थिए।

​लामो समयपछि निकास खोलिएसँगै सुगौली, अलौलगायतका क्षेत्रमा वर्षायाममा हुने डुबान र जलजमावको समस्या हट्ने अपेक्षा गरिएको छ। महानगरपालिकाले अवरुद्ध निकासलाई पूर्ण रूपमा खुलाएर पानीको सहज बहाव सुनिश्चित गराएको जनाएको छ। पानीको नियमित निकास भएसँगै डुबान घट्नुका साथै लामखुट्टेबाट हुने रोग र दुर्गन्धजस्ता समस्याबाट मुक्ति मिल्नेमा स्थानीय आशावादी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?