सत्य, निष्पक्ष र विश्वसनीय

सञ्चारमाध्यमको बजेट नकाट्न पत्रकार महासंघको माग; श्याम बञ्जाराको नेतृत्वमा अर्थमन्त्रीलाई ज्ञापन

न्युज डेस्क
२०८३ आश्विन १३, मंगलवार १५:२६

​जनकपुरधाम, १३ असोज

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले प्रदेश सरकारद्वारा सञ्चारमाध्यमका लागि विनियोजित बजेट कटौती नगर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गर्दै लोककल्याणकारी विज्ञापनको बजेट यथावत् राख्न जोडदार माग गरेको हो।

​चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणअन्तर्गत लोककल्याणकारी विज्ञापन (बजेट शीर्षक नं. २२३२३) का लागि कुल ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, वित्तीय समायोजनका नाममा सरकारले ५० प्रतिशत बजेट रोकेपछि सञ्चारमाध्यमका लागि ३५ लाख रुपैयाँ मात्रै उपलब्ध हुने अवस्था सिर्जना भएको छ।

​विज्ञापन बजारमा आएको मन्दीका कारण पहिले नै आर्थिक संकट झेलिरहेका सञ्चारमाध्यमहरू बजेट कटौतीले थप धराशयी बन्ने महासंघको भनाइ छ। आर्थिक संकट भएकै कारण धेरैजसो पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरू बन्द भइसकेका र बाँकी पनि बन्द हुने सङ्घारमा पुगेको ज्ञापनपत्रमा उल्लेख छ।

​लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता ऐतिहासिक राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाको स्मरण गराउँदै महासंघले मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणको बजेट कटौती गर्नुको साटो आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ।

​ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेश सचिव शैलेन्द्र क्रान्तिलगायत अन्य पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?