सत्य, निष्पक्ष र विश्वसनीय

बैंक कर्मचारीमाथि नै प्रश्न, ३९ लाख रुपैयाँको लेनदेन प्रकरणमा दुवै पक्षका आ–आफ्नै दाबी

न्युज डेस्क
२०८३ कार्तिक १४, शुक्रबार २०:२०

बारा , १३ कार्तिक
बाराको कोल्वीस्थित ‘कुनाल एन्ड मुनाल इन्टरप्राइजेज’ पेट्रोल पम्पसँग जोडिएको ३९ लाख रुपैयाँको आर्थिक कारोबार विवादमा बैंक कर्मचारी नीरज गुप्ताको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। रौतहटको महागढीमाई नगरपालिका–बरियारपुर घर भई हाल कोल्वीमा व्यवसाय सञ्चालन गर्दै आएका राकेश सहनी र रुपाकुमारी तथा रकम उपलब्ध गराउने पक्षबीचको विवादले नयाँ मोड लिएको छ।

प्राप्त विवरणअनुसार, पेट्रोल पम्प खरिद तथा सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्ने क्रममा बैंक कर्मचारी गुप्तासँग सहनी पक्षको चिनजान र आर्थिक कारोबार भएको थियो। सोही क्रममा २०८१ जेठ २३ गते ‘गुड फर पेमेन्ट’मार्फत ३९ लाख रुपैयाँ कुनाल एन्ड मुनाल इन्टरप्राइजेजका तत्कालीन सञ्चालक रामपुकार सहनीको खातामा जम्मा गरिएको थियो।

उक्त रकम बैंकबाट कर्जा स्वीकृत भएपछि फिर्ता गर्ने तथा त्यसबापत चेक र ब्याज उपलब्ध गराउने सहमति भएको बताइएको छ। तर, पछि चेक साट्ने क्रममा खाता बन्द भएको र हस्ताक्षर परिवर्तन भएको विषय बाहिर आएपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको हो।

यस प्रकरणमा रकम उपलब्ध गराउने पक्षले आफूहरू ठगीमा परेको दाबी गरिरहेको छ भने सहनी पक्षको भनाइ र कारोबारसँग सम्बन्धित कागजात तथा बैंकिङ प्रक्रियाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

विशेषगरी बैंकमा कार्यरत कर्मचारीले व्यक्तिगत चिनजानका आधारमा तेस्रो पक्षबाट ठूलो रकम संकलन तथा आर्थिक कारोबारमा समन्वय गर्नु बैंकिङ आचारसंहिता र जिम्मेवारीका दृष्टिले कत्तिको उचित थियो भन्ने प्रश्न पनि उठ्न सक्छ।

विवादका क्रममा थप ३ लाख र २ लाख रुपैयाँसमेत लेनदेन भएको दाबी गरिएको छ। उक्त रकम कुन प्रयोजनका लागि कसले र कुन सहमतिमा लिएको थियो भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ।

एक पक्षले सहनी दम्पतीमाथि ठगी तथा धम्कीको आरोप लगाइरहेको अवस्थामा अर्को पक्षको आधिकारिक धारणा, बैंकको स्पष्टीकरण र कारोबारसँग सम्बन्धित प्रमाण सार्वजनिक हुनु आवश्यक छ।

३९ लाख रुपैयाँको कारोबारमा वास्तविक जिम्मेवार को हो, रकमको लेनदेन कसरी भयो र चेक भुक्तानी हुन नसक्नुको कारण के हो भन्ने विषय निष्पक्ष अनुसन्धानबाट मात्रै टुंगो लाग्न सक्छ। आरोपकै आधारमा कुनै पनि पक्षलाई दोषी ठहर गर्नु उचित हुँदैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?