सत्य, निष्पक्ष र विश्वसनीय

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा, समाचारको स्रोत खोल्न प्रहरीको दबाब

न्युज डेस्क
२०८३ कार्तिक १४, शुक्रबार २०:२६

काठमाडौं, १३ कार्तिक
नेपाल प्रेसको न्यूजरुमबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ। प्रहरी ब्युरोले केहीबेरअघि उनलाई रिहा गरेको हो।

नेपाल प्रेसमा प्रकाशित एक समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले सुवेदीलाई कार्यालयबाटै पक्राउ गरेको थियो। यसैक्रममा नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्युरोमा बोलाएर सोधपुछ गरिएको थियो।

सोधपुछका क्रममा प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पारेपछि प्रहरीले सुवेदीलाई रिहा गर्न तयार भएको बताइएको छ।

पौडेलले समाचारको स्रोत खुलाउन भने अस्वीकार गरेका छन्। पत्रकारिताको मूल्यमान्यता र स्रोतको गोपनीयता कायम राख्नुपर्ने भन्दै उनले समाचारको जिम्मेवारी सम्पादकीय नेतृत्वले लिने अडान राखेका हुन्।

न्यूजरुमबाटै पत्रकार पक्राउ गरी समाचारको स्रोत खुलाउन दबाब दिइएको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र समाचार स्रोतको गोपनीयतासम्बन्धी प्रश्नसमेत उठाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?