डीडीसीमा १२ करोडभन्दा बढी अनियमितताको आरोप, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
काठमाडौं, १४ कार्तिक सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका इन्चार्ज तथा अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिने गतिविधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार योजनाबद्ध रूपमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक क्षति पुर्याइएको आरोप छ। उक्त प्रकरणमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ।
पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जिव झा रहेका छन्। त्यसैगरी तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पक्राउ परेका छन्।
यसैगरी डीडीसीका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
पक्राउ परेकामध्ये केहीको विवरण
सञ्जिव झा, ४५ वर्ष: सर्लाहीको बलरा नगरपालिका–३ स्थायी ठेगाना भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ मा बसोबास गर्दै आएका झा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख हुन्। उनलाई काठमाडौं महानगरपालिका–२६, लैनचौरबाट पक्राउ गरिएको हो।
विजयकुमार यादव, ४६ वर्ष: सिरहा नगरपालिका–१ स्थायी ठेगाना भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा बसोबास गर्दै आएका यादव तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजना, बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत छन्। उनलाई काठमाडौं महानगरपालिका–१६, बालाजुबाट पक्राउ गरिएको हो।
मनहरी शर्मा, ५५ वर्ष: पर्वतको मोदी गाउँपालिका–४ स्थायी ठेगाना भई काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा बसोबास गर्दै आएका शर्मा तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल डीडीसीको केन्द्रीय कार्यालय, लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत छन्। उनलाई पोखरा महानगरपालिका–१४, कास्कीबाट पक्राउ गरिएको हो।
बाँकी पक्राउ परेका व्यक्तिहरूको भूमिका र घटनामा संलग्नताबारे सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





