सत्य, निष्पक्ष र विश्वसनीय

अस्पताल उद्घाटन विवादमा फेटामा झडप, प्रहरीमाथि तोडफोड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न गोलि प्रहार आदित्य पासवान घाइते

न्युज डेस्क
२०८३ कार्तिक १५, शनिबार १३:५७

वीरगञ्ज, १४ कात्तिक

बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एक किशोर गम्भीर घाइते भएका छन्। झडपका क्रममा गोली चलेको र प्रहरीले भीड नियन्त्रण गर्न बल प्रयोग गरेको स्थानीयले बताएका छन्।

घाइते हुनेमा स्थानीय १६/१७ वर्षीय आदित्य पासवान रहेका छन्। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार पासवानको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ।

अस्पतालमा आवश्यक सेवा–सुविधा, जनशक्ति तथा स्रोतसाधनको पर्याप्त व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। यही विषयलाई लिएर विवाद बढ्दै गएपछि दुई पक्षबीच झडपको अवस्था सिर्जना भएको हो।

झडपका क्रममा नवनिर्मित अस्पताल भवनमा ढुंगामुढा तथा तोडफोड हुन थालेपछि शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा खटिएका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुजन लामाको नेतृत्वमा रहेको प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको बताइएको छ।

प्रहरी निरीक्षक लामाले दैनिक नेपाल न्युज डट कमलाई दिएको जानकारीअनुसार अस्पताल भवनमा तोडफोड जारी रहेपछि थप क्षति हुन नदिन तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीले आवश्यक बल प्रयोग गरेको हो। सोही क्रममा गोली चल्दा आदित्य पासवान घाइते भएका हुन्।

अस्पताल उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको थियो। दिउँसो १ बजेका लागि निर्धारित उद्घाटन कार्यक्रम विवाद चर्किएपछि प्रभावित भएको छ। सांसद बास्कोटा कलैयामै रोकिएकी छन्।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार निर्धारित समयभन्दा अगावै विवाद चर्किएपछि झडप र गोली चल्ने घटना भएको हो।

घटनापछि फेटाको अवस्था तनावपूर्ण बनेको छ। झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

अस्पतालजस्तो सार्वजनिक संरचनामा तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले शान्ति सुरक्षा कायम गर्न हस्तक्षेप गरेको प्रहरी पक्षको भनाइ छ। यद्यपि गोली चलाउनुपर्ने अवस्था, बल प्रयोगको औचित्य र किशोर घाइते भएको घटनाबारे निष्पक्ष छानबिन आवश्यक देखिन्छ।

अस्पताल उद्घाटन विवादमा फेटामा झडप, प्रहरीमाथि तोडफोड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न गोलि प्रहार आदित्य पासवान घाइते

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?