सत्य, निष्पक्ष र विश्वसनीय

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्छ : केपी ओली

न्युज डेस्क
२०८३ मंसिर ११, बिहीबार १७:११

काठमाडौं, १० मंसिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका छन्।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग आज भएको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले संविधान र कानुनअनुसार देश सञ्चालन हुनुपर्ने बताउँदै कसैलाई पनि संविधान मिच्ने छुट नभएको धारणा राखेका हुन्।

पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफ्नो पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने उनको भनाइ छ। लोकतन्त्रमा निर्वाचन खर्चिलो भयो भन्दैमा निर्वाचन प्रक्रियाबाट पछि हट्न नमिल्ने उनले बताए।

ओलीले निर्वाचनमा १५ देखि १६ अर्ब रुपैयाँ खर्च हुने तर्क गरेर चुनाव टार्न खोज्नु उचित नभएको बताए। देशमा अन्य गतिविधिमा ठूलो खर्च हुने गरेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई खर्चको कारण देखाएर रोक्न नहुने उनको भनाइ थियो।

उनले भने, ‘वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्छ। पटक–पटक चुनाव गराउँदा खर्च हुन्छ भने प्रदेश र संघको चुनाव एकै पटक मंसिरमा गरौँ न। एकै पटक गराउँदा पाँच वर्षका लागि भइहाल्थ्यो। पहिले पनि गरेकै थियो, अब पनि खर्च जोगाउन प्रदेश र संघको एकै पटक गरौँ।’

अध्यक्ष ओलीले आफ्नो कार्यकाल पूरा हुनुपर्ने तर अरू निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुन नपर्ने भन्ने सोच उचित नभएको टिप्पणीसमेत गरे।

उनले देश कसैको हुकुमबाट नभई संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै निर्वाचनसम्बन्धी निर्णय पनि संवैधानिक प्रक्रियाअनुसार हुनुपर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?