चिनियाँ नागरिकको झोलाबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ
काठमाडौं, १० मंसिर
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित १० किलो अस्थायी प्रहरी पोष्ट अगाडि चेकजाँचका क्रममा चिनियाँ नागरिकको साथबाट ६६ हजार ९५० युआन बरामद भएको छ । बरामद विदेशी मुद्रा नेपाली रुपैयाँमा करिब १६ लाख ६ हजार ८०० बराबर रहेको प्रहरीले जनाएको छ ।
मंसिर १० गते दिउँसो करिब ३ः४५ बजे इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौं आउँदै गरेको BAC 5293 नम्बरको स्कारपियो गाडी जाँच गरेको थियो ।

सोही क्रममा गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजी (CIRENOU OJI) ले बोकेको कालो रङको झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम फेला परेको हो ।
प्रहरीका अनुसार बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका ५ थान नोट रहेका छन् । उक्त रकमको नेपाली मूल्य १६ लाख ६ हजार ८०० रुपैयाँ रहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय अर्का चिनियाँ नागरिक वुजियान्दुओजी (WUJIANDUOJI) लाई नियन्त्रणमा लिइएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय कोदारीमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्कारपियोका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




