सत्य, निष्पक्ष र विश्वसनीय

प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, दलका कार्यालयमा धर्नादेखि प्रदर्शनसम्म

न्युज डेस्क
२०८३ मंसिर ११, बिहीबार १९:०२

काठमाडौं, १० मंसिर

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका विभिन्न माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु तथा सरकारी र निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको विषयलाई महासंघले आन्दोलनको प्रमुख कारण बनाएको छ।

त्यसैगरी पत्रकारको श्रम अधिकार उल्लंघन, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको जनाएको छ।

महासंघका अनुसार पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले मागप्रति बेवास्ता गरिरहेको छ। सरकारलाई थप दबाब दिन र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई महासंघका मागप्रति सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको हो।

घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित एक घण्टा धर्ना दिइनेछ।

त्यस्तै, मंसिर १४ गते नेपाली कांग्रेसको कार्यालयमा, मंसिर १५ गते नेकपा एमालेको कार्यालयमा, मंसिर १६ गते नेकपाको कार्यालयमा, मंसिर १७ गते श्रम संस्कृति पार्टीको कार्यालयमा र मंसिर १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा एक–एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ।

यसैगरी, मंसिर २० गते कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकामहरूमा विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।

महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित रूपमा ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरेमा उक्त दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ।

दोस्रो चरणको आन्दोलनबाट पनि माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले घोषित आन्दोलनका कार्यक्रम सक्रियतापूर्वक सफल बनाउन केन्द्र, प्रदेश तथा जिल्ला तहका सबै समिति र सम्बद्ध पत्रकारहरूलाई हार्दिक आह्वान गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?