सत्य, निष्पक्ष र विश्वसनीय

मुग्लिन–नारायणगढ सडकमा दुई बस ठोक्किँदा यातायात अवरुद्ध

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार ०८:४२

चितवनको जलबीरे नजिक दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने एक बसका चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

चितवन, ३ साउन
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक आइतबार बिहान दुई यात्रुवाहक बस ठोक्किँदा सडक अवरुद्ध भएको छ। दुर्घटनापछि सडकमा सवारी आवागमन प्रभावित भएको छ भने ठोक्किएका बस हटाउने काम जारी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको लु.प्र.०२–००१ ख ०५०५ नम्बरको बस र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको बस एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा अर्को सवारीसाधन पनि संलग्न रहेको जनाइएको भए पनि त्यसको नम्बर खुल्न बाँकी छ।

दुर्घटनामा राजधानी एक्सप्रेस बसका चालक गम्भीर घाइते भएका छन् भने केही यात्रु पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको संख्या र अवस्था सम्बन्धी थप विवरण आउन बाँकी छ।

वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्ड बन्द गरेको थियो। सडक आइतबार बिहान ६ बजे सञ्चालनमा आएलगत्तै सवारीको चाप बढेको र लेन अनुशासन उल्लङ्घनका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

सडक डिभिजन कार्यालयले दुर्घटनाग्रस्त बस हटाएर यातायात सञ्चालन सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। साथै वर्षायाममा सडक चिप्लो हुने भएकाले सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी चलाउन सबै चालकलाई आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?