सत्य, निष्पक्ष र विश्वसनीय

सिद्धबाबा क्षेत्रमा कारमाथि ढुंगा खस्दा दुई जना घाइते

न्युज डेस्क
२०८३ भाद्र ३१, बुधबार ०७:४७

पाल्पा, ३१ भदौ
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमाथि ढुंगा खस्दा दुई जना घाइते भएका छन्।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा माथिल्लो सिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट खसेको ढुंगा लागेको हो।
ढुंगा लागेर कारमा सवार बुटवल उपमहानगरपालिका–दीपनगरकी ३७ वर्षीया जुलन गैरे र जेसिस चोककी ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन्। उनीहरू दुवैको बुटवल हस्पिटल प्रालिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
ढुंगा लाग्दा कारको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। कार चालक रूपन्देहीको शुद्धोधन गाउँपालिका–कोलुवाका ३६ वर्षीय राजकुमार लोध भने सकुशल रहेका छन्।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?