सत्य, निष्पक्ष र विश्वसनीय

जसपाबाट निर्वाचित वडाध्यक्ष कुर्मी कांग्रेसमा प्रवेश, पद नै धरापमा

न्युज डेस्क
२०८३ आश्विन १३, मंगलवार २३:१३

वीरगञ्ज, १३ असोज

जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी परिवर्तन गरेको विवरण सार्वजनिक भएपछि उनको निर्वाचित पद नै संकटमा परेको छ।जसपाबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका कुर्मीले अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण सार्वजनिक भएपछि उनीमाथि दल त्यागसम्बन्धी कानुनी प्रश्न उठेको हो। नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यसम्बन्धी विवरणमा कुर्मीको नाम समावेश छ। विवरणअनुसार उनको कांग्रेस क्रियाशील सदस्यता नम्बर १०३५९४ रहेको छ।निर्वाचनअघि नेपाली कांग्रेसमा आबद्ध रहेका कुर्मीले स्थानीय तह निर्वाचनमा भने जसपाबाट टिकट लिएर वीरगञ्ज–१ को वडाध्यक्ष पद जितेका थिए। तर, आफूलाई उम्मेदवार बनाएर निर्वाचित गराएको दल छाड्दै पुनः कांग्रेसमा प्रवेश गरेपछि उनको राजनीतिक निर्णयमाथि मात्रै होइन, वडाध्यक्ष पदको कानुनी हैसियतमाथि समेत गम्भीर प्रश्न उठेको छ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१(१) अनुसार कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित स्थानीय तहका सदस्यले पदावधि कायम रहँदासम्म आफू निर्वाचित भएको दल त्याग गर्न नपाउने व्यवस्था छ। दफा ३१(२) मा उक्त व्यवस्थाविपरीत दल त्याग गरेमा निर्वाचित पद दल त्याग गरेको मितिदेखि स्वतः रिक्त हुने व्यवस्था गरिएको छ। यस्तै, दफा ३२(१)(ख) मा अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने व्यवस्था छ।त्यसैले कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण आधिकारिक रूपमा पुष्टि भएमा कुर्मीको वडाध्यक्ष पद कानुनतः स्वतः रिक्त भएको हो वा होइन भन्ने विषयमा सम्बन्धित निकायले तत्काल स्पष्ट पार्नुपर्ने अवस्था देखिएको छ।कुर्मीको पार्टी परिवर्तनले जसपाको आन्तरिक अनुशासनमाथि पनि प्रश्न उठाएको छ। आफ्नै पार्टीको टिकटमा चुनाव जितेका जनप्रतिनिधिले कार्यकालकै बीचमा अर्को दलको सदस्यता लिएको विवरण सार्वजनिक हुँदासमेत जसपाले हालसम्म ठोस कदम नचालेको भन्दै पार्टी नेतृत्वको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।निर्वाचित जनप्रतिनिधिले पार्टी परिवर्तन गर्दा त्यसको कानुनी र राजनीतिक परिणामबारे स्पष्टता आवश्यक भए पनि जसपाको मौनताले पार्टीभित्रको अनुशासन र नेतृत्वको प्रभावकारितामाथि नै प्रश्नचिह्न खडा गरेको देखिन्छ।कुर्मीको कदमले उनलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेको जसपामाथि समेत राजनीतिक दबाब बढाएको छ। एकातिर निर्वाचित जनप्रतिनिधिले पार्टी छाडेका छन् भने अर्कोतिर सम्बन्धित दलको निष्क्रियताले घटनालाई थप पेचिलो बनाएको छ।अब मुख्य प्रश्न एउटै छ—कुर्मीले अर्को दलको सदस्यता लिएको आधिकारिक रूपमा पुष्टि भएमा उनको वडाध्यक्ष पद के हुन्छ? यसको अन्तिम कानुनी टुंगो सम्बन्धित निर्वाचन तथा कानुनी निकायको निर्णयबाट हुने देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?