पर्सा प्रहरीको एक महिनाको प्रगति विवरण सार्वजनिक, १२० प्रतिवादी पक्राउ
वीरगञ्ज , २ कार्तिक
जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार एक महिनाको अवधिमा विभिन्न मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनतर्फ १०३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साको मिडिया समन्वय शाखाले सार्वजनिक गरेको विवरणअनुसार असोज महिनामा जिल्लाभरि विभिन्न शीर्षकमा १११ वटा अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये सामाजिक अपराधसम्बन्धी ६१, संगठित तथा आर्थिक अपराधसम्बन्धी १७, चोरीसम्बन्धी ९, ज्यानसम्बन्धी ८, महिला तथा बालबालिकासम्बन्धी ६, आत्महत्यासम्बन्धी ४, सवारी ज्यानसम्बन्धी २ र अन्य शीर्षकका ४ वटा मुद्दा रहेका छन्।

प्रहरीका अनुसार सार्वजनिक चासोका पेन्डिङ मुद्दामध्ये १९२ वटा मुद्दाको अनुसन्धान तथा फर्छ्योट गरिएको छ। यस्तै, फैसला कार्यान्वयनका क्रममा पक्राउ परेकाबाट ४० वर्ष ११ महिना १२ दिन कैद सजाय कार्यान्वयन गर्नुपर्ने र २ करोड ७१ लाख १२ हजार ४४२ रुपैयाँ जरिवानासम्बन्धी कारबाही अघि बढाइएको विवरणमा उल्लेख छ।
लागूऔषधका १६ मुद्दा दर्ता, २४ जना पक्राउ
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले एक महिनामा १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरेको छ। सो क्रममा ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ।
त्यसैगरी, अवैध हातहतियार नियन्त्रणतर्फ ५ थान हातहतियार र ६ राउन्ड गोलीगट्ठा बरामद गरिएको प्रहरीले जनाएको छ। अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत ४ हजार १७६ लिटर मदिरा तथा ६ हजार ६०५ लिटर कच्चा पदार्थ बरामद गरिएको छ भने दुईवटा मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको छ। यस क्रममा एक जना पक्राउ परेका छन्।
४० सवारी दुर्घटना, दुई जनाको मृत्यु
ट्राफिक व्यवस्थापनतर्फ असोज महिनामा ४० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न ६१ वटा सवारीसाधन रहेका छन्। प्रहरीले दुर्घटनामा परेका ३१ जनाको उद्धार गरेको जनाएको छ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३४४ वटा सवारीसाधनमाथि कारबाही गरी १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। दुर्घटनाका कारणमध्ये चालकको लापरबाहीबाट १५ र अन्य कारणबाट २५ वटा दुर्घटना भएको विवरणमा उल्लेख छ।
घरेलु हिंसाका ३९ उजुरी, सबैमा मिलापत्र
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विषयमा ३९ वटा उजुरी प्राप्त भएका छन्। घरेलु हिंसातर्फ पनि ३९ वटा उजुरी दर्ता भएकामा सबै उजुरीमा मिलापत्र भएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा प्राप्त २८३ र जिल्ला प्रशासन कार्यालयमार्फत आएका ९६ गरी कुल ३७९ वटा ठाडो उजुरी फर्छ्योट गरिएको छ।
हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विवरणमा ३१ जना हराएको र १८ जना फेला परेको उल्लेख छ। हराएकामध्ये महिला ७, बालक १, बालिका २२ र ज्येष्ठ नागरिक १ जना रहेका छन्।
६ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा
प्रहरीले शान्ति सुरक्षा कायम गर्न मोबाइल गस्ती, पैदल गस्ती, ग्रामीण गस्ती, चेकिङ, पिकेट तथा अन्य नियमित प्रहरी परिचालन गरेको जनाएको छ। असोज महिनामा प्रहरीका विभिन्न गस्ती तथा चेकिङ गतिविधि हजारौँ पटक सञ्चालन गरिएका छन्।
प्रहरी कार्यालयको हटलाइन तथा अन्य सम्पर्क नम्बरमा ५ हजार ६३ वटा कल प्राप्त भएका छन्। तीमध्ये हटलाइनमा ४ हजार ४७६ र ड्युटी इन्चार्जको सम्पर्क नम्बरमा ५८७ वटा कल आएका थिए। नागरिक सहायता कक्षमार्फत ६ हजार २४० जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको विवरणमा उल्लेख छ।
२२५ सामुदायिक कार्यक्रम सञ्चालन
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले समुदाय केन्द्रित २२५ वटा कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा ४ हजार ७३८ जना लाभान्वित भएका छन् भने ४७४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।
लागूऔषधविरुद्ध ३७, ट्राफिक सचेतनासम्बन्धी २२, ज्येष्ठ नागरिकको सुरक्षासम्बन्धी १४, महिला हिंसाविरुद्ध ९, जातीय भेदभाव तथा छुवाछुतविरुद्ध ८ र साइबर अपराधसम्बन्धी ६ वटा कार्यक्रम सञ्चालन गरिएको छ। यसबाहेक आत्महत्या रोकथाम, बालविवाह नियन्त्रण, बालश्रमविरुद्ध र विपद्सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएका छन्।
प्रहरीले अपराध नियन्त्रणका लागि सीसीटीभी, डिजिटल निगरानी, सामाजिक सञ्जाल अनुगमन, गोप्य सूचना संकलन, नियमित गस्ती, रात्री चेकिङ तथा सीमा क्षेत्रमा निगरानीलाई प्रभावकारी बनाइएको जनाएको छ। साथै, वीरगञ्जको मुर्ली तथा घण्टाघर क्षेत्रमा सडक विस्तार र गहवामाई मेला तथा रमाइलो मेलाका क्रममा शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण, अनुसन्धान, नागरिक सहायता र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर आगामी दिनमा समेत सुरक्षा गतिविधिलाई प्रभावकारी बनाउने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





