बाँकेको कपासीमा विद्युत् सर्टबाट भीषण आगलागी, सात घर पूर्णरूपमा नष्ट
बाँके, ५ कार्तिक
बाँकेको जानकी गाउँपालिका–६ स्थित कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
बुधबार दिउँसो करिब २ः२० बजे कपासी निवासी इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

आगलागी नियन्त्रणका लागि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल परिचालन गरिएको थियो। प्रहरी तथा दमकलको सहयोगमा दिउँसो करिब ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको जनाइएको छ।
आगलागीबाट साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घरसमेत पूर्णरूपमा जलेर क्षति पुगेको छ।
यसैगरी, महेश खानको पक्की घरको एउटा झ्यालमा समेत आगलागीबाट क्षति पुगेको छ।
प्राप्त विवरणअनुसार आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





