सत्य, निष्पक्ष र विश्वसनीय

गृहमन्त्रीसँगै भिडियोमा देखिए ‘फरार अभियुक्त’ भनिएका नितेश ओली

न्युज डेस्क
२०८३ कार्तिक १३, बिहीबार १५:०५

काठमाडौं , १२ कार्तिक
गृह मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको एउटा भिडियो रिल्समा गृहमन्त्री सुदन गुरुङसँगै दुईवटा अभियोगमा फरार रहेको भनिएका नितेश ओली देखिएपछि यस विषयले चर्चा पाएको छ।

हालै गोरखामा गृहमन्त्री गुरुङको भ्रमणका क्रममा खिचिएको भिडियोमा ओली पनि सँगै देखिएका हुन्। यसअघि ओलीले गृहमन्त्रीसँग खिचेको सेल्फी सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। नेपाललाइभले यस विषयमा समाचार प्रकाशित गरेपछि उनले आफ्नो फेसबुकबाट गृहमन्त्रीसँगका फोटो तथा भिडियो हटाएको समाचारमा उल्लेख छ।

प्राप्त विवरणअनुसार, सशस्त्र प्रहरी बलका एसएसपी सुदिर जंग थापामाथि अभद्र व्यवहार गरेको आरोपमा ओलीलाई पक्राउ गर्न सुनसरी प्रहरीले २०८२ मंसिर २१ गते झापा प्रहरीलाई पत्राचार गरेको थियो। झापाको हल्दिबारी निवासी ओलीलाई हालसम्म पक्राउ नगरिएको जनाइएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ झापा शाखाका पदाधिकारीसहित पत्रकारितासँग सम्बन्धित व्यक्तिहरूको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ओलीविरुद्ध साइबर अपराधअन्तर्गत २०८३ असार १५ गते झापा प्रहरीमा जाहेरी दर्ता भएको विवरणमा उल्लेख छ। सोही दिन उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ।

तर, पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि ओली पक्राउ नपरेको र पछि उनलाई ‘फरार अभियुक्त’को सूचीमा राखेर सरकारी वकिलसमक्ष मुद्दा पेस गरिएको दाबी गरिएको छ।

गृहमन्त्रीसँगै सार्वजनिक कार्यक्रममा देखिएका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनी पक्राउ नपरेको विषयले प्रहरीको अनुसन्धान तथा कार्यान्वयन प्रक्रियामाथि प्रश्न उठाएको छ। यद्यपि, ओलीमाथि लागेका आरोप, पक्राउको अवस्थाबारे सम्बन्धित प्रहरी निकाय तथा गृह मन्त्रालयको आधिकारिक धारणा र स्पष्टीकरण प्राप्त भएपछि घटनाबारे थप स्पष्टता आउनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?