सत्य, निष्पक्ष र विश्वसनीय

सञ्चारकर्मीमाथिको धरपकडबारे प्रधानमन्त्रीको सचिवालय र प्रहरीको धारणा बाझियो

न्युज डेस्क
२०८३ कार्तिक १५, शनिबार ०८:०८

काठमाडौं, १४ कार्तिक
सञ्चारकर्मीमाथि शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीबीच फरक–फरक धारणा सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता र पूर्वजानकारी नरहेको दाबी गरेको छ भने नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयकै चासोका आधारमा सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ताले ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रहरीविरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र प्रसारित सन्देशको सत्यतथ्य बुझ्न सञ्चारकर्मीलाई बोलाइएको उल्लेख छ।

प्रहरीका अनुसार पछिल्लो समय प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियालाई लिएर नकारात्मक सन्देश प्रवाह भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो।

सोही चासोका आधारमा साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएर सार्वजनिक भइरहेका प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिन खोजेको प्रहरीको दाबी छ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै त्यसको मनसाय सही रहेको जिकिर गरेको छ। साथै, नेपाल प्रहरी प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको र राज्यको चौथो अंगका रूपमा रहेको प्रेसप्रति सकारात्मक भावना राख्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ।

यता, प्रधानमन्त्रीको सचिवालयले भने घटनामा आफ्नो संलग्नता र पूर्वजानकारी नरहेको स्पष्ट पारेको छ। सचिवालयको दाबी र प्रहरीको वक्तव्यबीच देखिएको भिन्नताले घटनाबारे थप प्रश्न खडा गरेको छ।

एउटै घटनामा प्रधानमन्त्रीको सचिवालयले पूर्वजानकारी र संलग्नता अस्वीकार गर्नु तथा प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको स्वीकार गर्नुले सरकारी निकायबीचकै धारणा बाझिएको देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?