नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर, ३ एसपीसहित ८ डीएसपीको काज सरुवा
काठमाडौँ, २ मंसिर
नेपाल प्रहरीमा तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित केही प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले विभिन्न कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूको काज सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा काजी कुमार आचार्यलाई ल्याइएको छ भने उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ। त्यस्तै, एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा सरुवा गरिएको छ।
आईजीपी केसीले आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को समेत काज सरुवा गरेका छन्। जसअनुसार प्रहरी हेडक्वार्टरको केन्द्रीय लेखामा डीएसपी विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
यसैगरी, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा तथा इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतले रातोपाटीलाई दिएको जानकारीअनुसार डीएसपी बम र बस्नेतलाई प्रहरी स्टाफ कलेजको तयारीका लागि कार्यबोझ कम हुने कार्यालयमा सरुवा गरिएको हो।
प्रहरी संगठनभित्र विभिन्न तहका अधिकृतहरूको जिम्मेवारी हेरफेर गर्ने क्रमसँगै पछिल्लो निर्णय गरिएको हो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





