पूर्वसशस्त्र प्रहरी कर्मचारीकी आमाको अन्त्येष्टिमा शोक सलामी, विवादपछि छानबिन सुरु
जनकपुरधाम, १० मंसिर
बारा क्षेत्र नम्बर–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मनोजप्रसाद चौधरीकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीले शोक सलामी दिएको घटनाले विवाद उत्पन्न भएको छ । नियमविपरीत पूर्वसशस्त्र प्रहरी कर्मचारीका परिवारलाई शोक सलामी दिइएको भन्दै आलोचना भएपछि सशस्त्र प्रहरी बलले घटनाबारे छानबिन सुरु गरेको छ ।
रास्वपाका कोल्हवी नगर सचिवसमेत रहेका चौधरी पूर्वसशस्त्र प्रहरी कर्मचारी हुन् । उनकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारीको टोलीले शोक सलामी दिएको थियो । अन्त्येष्टिमा रास्वपाका नेता तथा कार्यकर्तासहित बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको समेत उपस्थिति थियो ।

सामाजिक सञ्जालमा अन्त्येष्टिका तस्बिर सार्वजनिक भएपछि पूर्वसशस्त्र प्रहरी कर्मचारीका आफन्तलाई शोक सलामी दिन मिल्ने वा नमिल्ने भन्ने विषयमा प्रश्न उठेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ गण बाराका प्रमुख एसपी विशाल सिलवालका अनुसार चौधरी बहालवाला सशस्त्र प्रहरी कर्मचारी रहेको जानकारीका आधारमा सलामीका लागि टोली पठाइएको थियो । तर, पछि बुझ्दै जाँदा चौधरी भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी रहेको खुलेको उनले बताए ।
सङ्गठनमा कार्यरत कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने परम्परा रहे पनि भूतपूर्व कर्मचारीका आफन्तलाई भने यस्तो सम्मान दिने व्यवस्था नरहेको एसपी सिलवालले स्पष्ट पारे । उनले घटनामा त्रुटि भएको स्वीकार गर्दै कसको आदेशमा टोली खटिएको हो भन्ने विषयमा छानबिन भइरहेको जानकारी दिए ।
यता, चौधरीले आफू अहिले सरकारको कुनै पनि सार्वजनिक पदमा नरहेको र पूर्वसशस्त्र प्रहरी कर्मचारी भएकाले आफूले काम गरेको सङ्गठनबाट सम्मानस्वरूप शोक सलामी प्राप्त गरेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म सरकारको कुनै पनि सार्वजनिक पदमा छैन । पहिला म पूर्वसशस्त्र प्रहरी हुँ । हाम्रा पुजनीय बुवाआमाको देहान्त भएपछि मैले काम गरेको सङ्गठनले दिने आदर्श सम्मान शोक सलामी हो । यस्तो दुःखको घडीमा टीकाटिप्पणी नगरिदिनुहोला ।’
देशमा सङ्कट वा आपत्कालीन अवस्था आए सरकारले पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई समेत सेवामा फर्काउन सक्ने भन्दै आफूले सङ्गठनबाट पाउने सम्मान लिएको उनको तर्क छ ।
तर, रास्वपाको राजनीतिक प्रभाव प्रयोग गरेर शोक सलामी लिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
यसैबीच, सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआईजी विष्णु भट्टराईले पनि पूर्वसशस्त्र प्रहरी कर्मचारीका आफन्तलाई यसरी शोक सलामी दिन नमिल्ने बताएका छन् । उनका अनुसार सशस्त्र प्रहरी बल नम्बर–१ गण बाराअन्तर्गत कोल्हवीस्थित युनिटबाट सलामीका लागि टोली गएको थियो ।
डीआईजी भट्टराईले समेत घटनामा त्रुटि भएको बताउँदै यस विषयमा छानबिन भइरहेको जानकारी दिएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




