नवलपरासीमा १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मदिरा बरामद
नवलपरासी, २९ असोज
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५, महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको मदिरा बरामद गरेको छ।

प्रहरीका अनुसार आज बिहान करिब ३:४५ बजे भारतबाट अवैध रूपमा भन्सार छली गरी ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङ, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले उक्त सडकखण्डमा बेवारिसे अवस्थामा मदिरा फेला पारेको हो।
बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल ‘ओल्ड मङ्क’ (OLD Monk) रम रहेका छन्। प्रति बोतल अनुमानित २ हजार रुपैयाँका दरले बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद मदिरालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?






