सत्य, निष्पक्ष र विश्वसनीय

वीरगन्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

न्युज डेस्क
२०८३ आश्विन १, बिहीबार ०७:१६

वीरगन्ज, १ असोज
वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा हतियार तथा गोली बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तु बिहार चोक नजिक सडकमा बुधबार साँझ रोकेर राखिएको भारतीय नम्बर प्लेटको कारबाट सशस्त्र प्रहरीले चार थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले कारभित्रबाट दुई थान सिक्सर पेस्तोल, दुई थान कटुवा पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको जनाएको छ।
बरामद हतियार तथा गोलीसहित कारलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
कार कसले र किन उक्त स्थानमा रोकेर राखेको थियो तथा बरामद हतियार र गोली कसले र कुन प्रयोजनका लागि ल्याएको हो भन्ने विषयमा भने प्रहरीले तत्काल केही खुलाएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?