सत्य, निष्पक्ष र विश्वसनीय

बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै

न्युज डेस्क
२०८३ आश्विन ७, बुधबार २०:३६
काठमाडाैँ,, ७ असोज

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ मा परिणत भएपछि त्यसको प्रभाव नेपालमा देखिन थालेको छ। बुधबार देशका अधिकांश भूभागमा बदली भएको छ भने काठमाडौंसहित ६ प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार उक्त प्रणाली बुधबार राति वा बिहीबार बिहान जमिनमा प्रवेश गर्ने सम्भावना छ। प्रणालीको प्रभावले बिहीबारदेखि वर्षाको गतिविधि थप बढ्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार बिहीबार, शुक्रबार र शनिबार देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना छ। विशेषगरी मध्य तथा पश्चिम नेपालमा प्रभाव बढी देखिने अनुमान गरिएको छ। पश्चिमी क्षेत्रमा शनिबार दिउँसोसम्म वर्षा हुने र त्यसपछि क्रमशः कम हुँदै जाने मौसमविद् दाहालले बताएका छन्।

सम्भावित वर्षा र विपद्को जोखिमलाई ध्यानमा राख्दै १५ जिल्लामा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा २९ जिल्लामा सतर्कता अपनाउन भनिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेक टाढाको यात्रा नगर्न, रातिको समयमा यात्रा नगर्न तथा बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?