सत्य, निष्पक्ष र विश्वसनीय

कुलेखानीमा पानीको सतह बढे साइरन बजाएर चेतावनी दिइने

न्युज डेस्क
२०८३ आश्विन ८, बिहीबार १९:११

मकवानपुर, ८ असोज
वर्षायाममा कुलेखानी जलाशयमा पानीको सतह बढ्दै जाँदा बाँधको सुरक्षाका लागि साइरन बजाएर पूर्वसूचना दिने व्यवस्था गरिएको छ। इन्द्रसरोवर गाउँपालिकाले सूचना जारी गर्दै बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रका खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई साइरनमार्फत चेतावनी दिइने जनाएको हो।

गाउँपालिकाका अनुसार पहिलो चेतावनीमा करिब एक मिनेट साइरन बजाइनेछ। यस अवस्थामा जलाशयमा पानी भरिन लागेको संकेत हुने भएकाले खोला किनारमा जुनसुकै प्रयोजनका लागि जान प्रतिबन्ध लगाइएको छ। दोस्रो चेतावनीमा करिब दुई मिनेट साइरन बजाइनेछ, जसलाई उच्च सतर्कताको संकेत मानिनेछ। यस्तो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवतीलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिएको छ।

यस्तै तेस्रो तथा अन्तिम चेतावनीमा छोटो–छोटो अन्तरालमा लगातार तीन पटक साइरन बजाइनेछ। यसले बाँधको मुख्य ढोका खोलिएको र नदीको सतह उच्च जोखिममा पुग्न सक्ने संकेत गर्नेछ। यस्तो अवस्थामा नागरिकलाई तत्काल खोला किनार तथा गहिरो भाग छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्नसमेत गाउँपालिकाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?