सत्य, निष्पक्ष र विश्वसनीय

सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गरिने

न्युज डेस्क
२०८३ आश्विन ८, बिहीबार २०:०४

काठमाडौं, ८ असोज
सरकारले खेलकुद क्षेत्रको विकास र विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। यससम्बन्धी समझदारीपत्रमा बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन्।

मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र इन्डोर कभर्डहल निर्माण तथा स्तरोन्नति गरिनेछ। नयाँ पूर्वाधारमार्फत विद्यालय तहदेखि नै खेलकुदप्रति आकर्षण बढाउँदै प्रतिभावान खेलाडी उत्पादन गर्ने सरकारको लक्ष्य छ। खेलकुदलाई विद्यालयको पाठ्यक्रमसँग समेत जोड्ने तयारी भइरहेको उनले बताए।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आगामी तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कम्तीमा २ हजार दर्शक क्षमताका बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने लक्ष्य लिएको छ। यस्तै प्रमुख आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ।

योजनाअनुसार फुटबल रंगशालातर्फ झापाको मेची रंगशाला र आदिवासी जनजागृति रंगशाला, पर्साको नारायणी रंगशाला, चितवन रंगशाला, नेपालगञ्ज, सुर्खेत, धनगढी, दशरथ, पोखरा, बुटवल एन्फा कम्प्लेक्स, सहिद रंगशाला, धरान र कोहलपुर फुटबल रंगशाला रहेका छन्।

क्रिकेटतर्फ जनकपुरको रामजानकी, विराटनगरको बैजनाथपुर, कोहलपुर अन्तर्राष्ट्रिय, सुर्खेतको चाँदनी चोक, धनगढीको फाप्ला, काठमाडौंको तल्लो मुलपानी र पोखरा क्रिकेट रंगशाला समेटिएका छन्। यस्तै इन्डोर कभर्डहल बुटवल, पोखरा, लहान, विराटनगर, कर्णाली प्रदेश रंगशाला, फाप्ला खेलग्राम र काठमाडौंमा निर्माण गर्ने योजना छ। प्रत्येक पूर्वाधारमा आगामी तीन वर्षभित्र २५ करोड रुपैयाँसम्म लगानी गरिने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?