बुढानीलकण्ठमा २० किलो सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २३ असोज
काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले करिब २० किलो सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका तीनै जना चिनियाँ नागरिक रहेको खुले पनि प्रहरीले उनीहरूको नाम तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार बरामद सुनको परिमाण करिब २० किलो रहेको छ। यद्यपि, सुनको वास्तविक तौल, शुद्धता तथा अन्य प्राविधिक विवरणबारे परीक्षण भइरहेको छ।
बरामद सुन कहाँबाट ल्याइएको थियो, नेपालमा कसरी भित्रियो र यसको वास्तविक स्वामित्व कसको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सुनको कारोबारमा अन्य व्यक्ति वा समूहको संलग्नता हुन सक्ने आशंकामा पक्राउ परेकाहरूसँग सोधपुछसमेत भइरहेको छ।
घटनाको पुष्टि प्रहरी प्रधान कार्यालयले समेत गरेको छ। बरामद सुन तथा पक्राउ परेका व्यक्तिबारे विस्तृत जानकारी सार्वजनिक गर्न प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।
प्रहरीको थप अनुसन्धान र परीक्षणपछि बरामद सुनको वास्तविक परिमाण, स्रोत तथा घटनासँग सम्बन्धित अन्य विवरण खुल्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





