आगामी सातादेखि देशभर झरीको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह
काठमाडौं, ५ कार्तिक
बङ्गालको खाडीमा विकसित भइरहेको नयाँ न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका अधिकांश भूभागमा वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद्हरूका अनुसार आगामी मङ्गलबारदेखि करिब एक हप्ताभन्दा बढी समयसम्म देशका धेरै स्थानमा झरी पर्ने र केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ। मौसमविद् विनोद पोखरेलले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मौसम पूर्वानुमान मोडेलहरूले वर्षाको सङ्केत देखाएको जानकारी दिँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।
वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कात्तिकमा धान भित्र्याउने तयारीमा रहेका किसानलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। सम्भव भएसम्म मङ्गलबारअघि नै पाकेको धान काटेर सुरक्षित स्थानमा भित्र्याउन वा वर्षाको अवस्था हेरेर कटानीको योजना बनाउन उपयुक्त हुने मौसमविद्हरूको सुझाव छ। वर्षासँगै केही स्थानमा चट्याङ र असिना पर्ने सम्भावना पनि रहेकाले कृषि बालीमा क्षति हुन नदिन ध्यान दिनुपर्नेछ।

यसैगरी, मनसुनपछिको समय पदयात्रा तथा पर्यटकीय भ्रमणका लागि उपयुक्त मानिए पनि सम्भावित वर्षाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जोखिम बढाउन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले पर्यटक तथा यात्रुहरूलाई यात्रा गर्नुअघि मौसमको पछिल्लो अवस्था बुझ्न र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना तथा बुलेटिनका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमानमा परिवर्तन हुन सक्ने भएकाले आगामी दिनमा जारी हुने सूचनालाई नियमित रूपमा हेर्नसमेत सुझाव दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




