शनिबारसम्म वर्षा, हावाहुरी र चट्याङको जोखिम, सतर्क रहन आग्रह
काठमाडौँ , ११ कार्तिक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा ठूलो वर्षा तथा हावाहुरी चल्न सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्छ।
सम्भावित विपद्बाट बच्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र नदी किनार तथा बाढीको जोखिम भएका स्थानमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ।

त्यस्तै, मौसम पूर्वानुमान तथा आधिकारिक सूचनालाई नियमित रूपमा हेर्न र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ।
आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





