ममता काफ्लेको हत्यामा नरेश भट्ट दोषी ठहर, सजाय निर्धारण मार्च १२ मा हुने
काठमाडौँ , २५ कार्तिक
अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले नेपाली मूलका नरेश भट्टलाई उनकी पत्नी ममता काफ्ले भट्टको हत्यामा दोषी ठहर गरेको छ ।
जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या (फर्स्ट डिग्री मर्डर), शव लुकाएको र मृत शरीरको बेइज्जती गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

‘इन्साइड नोभा’का अनुसार तीनवटै अभियोगमा दोषी ठहर भएका भट्टको सजाय निर्धारणसम्बन्धी अन्तिम सुनुवाइ सन् २०२७ मार्च १२ का लागि तय गरिएको छ ।
मनासास पार्कमा नर्सका रूपमा कार्यरत २८ वर्षीया ममता काफ्ले भट्ट सन् २०२४ जुलाई २९ देखि सम्पर्कविहीन भएकी थिइन् । उनी बेपत्ता भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर, उनको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।
३९ वर्षीय नरेश भट्टले गत साता अदालतमा बयान दिने क्रममा ममताले आत्महत्या गरेको र आफूले उनको शव टुक्रा पारेर फालेको स्वीकार गरेका थिए ।
भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्ने व्यवस्था छ ।
यस घटनाले अमेरिकामा रहेका नेपाली समुदायलाई समेत स्तब्ध बनाएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





