सत्य, निष्पक्ष र विश्वसनीय

एनपिएलमा आज दुई खेल, प्लेअफ समीकरण थप रोमाञ्चक

न्युज डेस्क
२०८३ कार्तिक २८, शुक्रबार ०८:५२

काठमाडौं, २७ कात्तिक
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलसँगै प्लेअफ समीकरण थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

आजको पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्।

काठमाडौं पाँच खेलमा चार जित र एक हारसहित आठ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। सुदूरपश्चिमले भने लिग चरणका छ खेलमध्ये चारमा जित र दुईमा हार बेहोर्दै आठ अंक जोडेको छ। आजको खेल सुदूरपश्चिमका लागि लिग चरणको अन्तिम खेल हो।

आजको खेल जित्ने टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ। लगातार चार जित निकालेको काठमाडौं एक खेल अगावै प्लेअफमा पुग्ने लक्ष्यमा छ भने सुदूरपश्चिमका लागि जित अनिवार्यजस्तै बनेको छ।

आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। लिग चरणको अन्तिम खेल खेल्न लागेको जनकपुरका लागि प्लेअफ सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने दबाब छ।

जनकपुरले छ खेलमा दुई जित र चार हारसहित चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ। चितवन भने पाँच खेलमा दुई जित, दुई हार र एक खेलमा वर्षाका कारण अंक बाँड्दै पाँच अंकसहित पाँचौँ स्थानमा छ।

आज चितवनलाई हराए जनकपुरको अंक छ पुग्नेछ। तर, जितपछि पनि जनकपुरको प्लेअफ सम्भावना निकै झिनो रहनेछ। प्लेअफमा पुग्न जनकपुरले अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ।

यता, विराटनगर किङ्सले छ खेलमा तीन जित र तीन हारसहित छ अंक जोडेको छ। चितवनले आज जनकपुरलाई पराजित गरे सात अंक बनाउनेछ। चितवनको लिग चरणमा अझै एक खेल बाँकी रहेकाले प्लेअफ दौडमा उसको सम्भावना बलियो बन्नेछ।

चितवनले लिग चरणको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। बाँकी दुवै खेल जित्दै प्लेअफमा स्थान बनाउने लक्ष्यसहित चितवन आज मैदानमा उत्रनेछ।

यसअघि बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?